आक्रमणको पहिलो दिन इराकको सरकारी फौज र कुर्द लडाकुले उल्लेखनीय प्रगति हासिल गरेको अमेरिकी रक्षा मन्त्रालयले बताएको छ ।
सन् २०१४ को जुनमा विद्रोही समूह इस्लामिक स्टेटले आफ्नो कब्जामा लिएको मोसुल शहरलाई उनीहरुको नियन्त्रणबाट मुक्त पार्नका लागि इराकी सरकारी फौजसहितको विभिन्न समूहको गठबन्धनले सोमबार सबेरैबाट त्यहाँ सैन्य कारबाही शुरु गरेको हो।
निर्णायक भनिएको यो लडाइँ लामो समय चल्न सक्ने अनुमान गरिएको छ । महिनौंको तयारीपछि इराकको सरकारी फौज, कुर्दको पेशमेर्गा फौज र सुन्नी लडाकुहरुसहितको ३० हजार फौजले, इस्लामिक स्टेटको बलियो पकड रहेको मोसुल क्षेत्रमा सोमबार बिहानैबाट आक्रमण थालेका थिए ।
आक्रमणका लागि अमेरिकी लडाकुविमानहरुले सघाइरहेका छन् । मोसुलमा चार हजार देखि आठ हजारको संख्यामा इस्लामिक स्टेटका लडाकु रहेको ठानिएको छ । कारबाही थालेको शुरुका केही घण्टामा कुर्दहरुले धेरै गाउँ आफ्नो नियन्त्रणमा लिएका थिए ।
सोमबार साँझ उनीहरुले २४ घण्टाभित्र नौ वटा गाउँ र दुई सय वर्ग किलोमिटरको क्षेत्र कब्जामा लिनेसहित आफ्ना सबै मुख्य उद्देश्यहरु पूरा भएको घोषणा गरेका थिए ।
कारवाही तिव्र भएपछि संसारकै खुंखार आतंकबादी लडाकुहरु त्यहाँबाट भागिरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
युद्धका कारण एक लाख भन्दा बढी इराकी सिरिया वा अन्यत्र छिमेकी देशमा शरण लिन जाने संयुक्त राष्ट्रसंघको अनुमान छ ।
Social Buttons