सिन्धुलीः वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका तीन नेपालीलाई त्यहाँको अदालतले जनही तीन वर्ष जेल र सय कोर्रा सजायको फैसला सुनाएको छ । सिन्धुली रानीचुरी ७ का सन्तोष घिमिरे, डाँगीहाट ८ चन्द्रपुर मोरङका सुवास थापा क्षेत्री र सिरहाका दिनेशलाल शाहलाई त्यहाँको अदालतले चोरीको अभियोगमा यस्तो सजायसहितको फैसला सुनाएको हो ।
साउदी अरबस्थित ओसियन नेट ट्रेडिङ कम्पनी एलएलसीमा कार्यरत उनीहरूलाई एक साताअघि (जेठ १२ गते) अदालतले यस्तो सजायको फैसला गरेको सजाय पाउने घिमिरेले साउदीबाट जानकारी दिए । उनीहरूलाई कार्यरत कम्पनीको टुटफुट भएका र भाँचिएका काठका फनिर्चर चोरी गरी बिक्री गर्न लागेको आरोपमा कम्पनीकै उजुरीका आधारमा अदालतले दोषी ठहर गरेर सजाय सुनाएको हो ।
उनीहरूले आफूहरू निर्दोष रहेको टेलिफोनमार्फत बताएका छन् । आफूहरू निर्दोष भए पनि कम्पनीले फसाएको भन्दै बचाउका लागि नेपाल सरकारसँग आग्रह गरेका छन् । आफूहरू निर्दोष भएकाले सजायबाट जोगाई दिन आग्रह गरेका हुन् ।
घिमिरेले नेपालस्थित सिन्धुलीको जिल्ला विकास समितिअन्तर्गत सूचना तथा परामर्श केन्द्रमा फोन गरेर आफूहरूलाई बचाइदिन आग्रह गरेका हुन् ।
बिनाकमजोरी जेल बस्नुपर्ने र सय कोर्रा लगाउँदा बाँच्ने सम्भावना कम भएको भन्दै उक्त सजायबाट आफूहरूलाई जोगाइदिन उनले नेपाल सरकारसँग अपिल गरेका हुन् ।
सूचना केन्द्रका परामर्शकर्ता रमा कार्कीका अनुसार घिमिरे र थापा क्षेत्री सिरहाका साथी शाहले थोत्रा फर्निचर बिक्री गर्दा पैसा आउने जनाएपछि उनकै लहैलहैमा लागेर कम्पनीले फ्याँकेका फर्निचर उठाएर बिक्री गर्न लैजाने तयारी गर्दा फसेका हुन् ।
अन्नपूर्ण पोस्टमा खबर छ |
Social Buttons