दाहालले कांग्रेसको समर्थनमा आफ्नै सरकारको नेतृत्व गर्ने र त्यसमा सहयोग पुर्याउन ओलीसँग आग्रह गरेपछि प्रधानमन्त्रीकै आग्रहमा पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल, माधवकुमार नेपाल तथा पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले बजेट पारित भएलगत्तै ओलीले राजीनामा गर्ने र एमालेकै प्रस्तावमा दाहाल प्रधानमन्त्री बन्ने प्रावधानसहितको तीनबुँदे सहमति मस्यौदा तयार गरेका थिए।
‘सहमतिको वातावरण बनाउनुस् म छोड्न तयार छु तर मिति तोकेर राजीनामा गर्छु भन्नु भन्दा अहिले बस्न लागेको मन्त्रपरिषद्मै घोषणा गरिदिन्छु राजीनामा’ भन्दै ओली कड्किएपछि एमाले नेतात्रयले चिठी सार्वजनिक नगरी खल्तीमै मात्र राख्न सुझाव दिए। ‘चिठी खल्तीमा, हल्ला बजारमा? म मान्दिनँ’ भन्ने अडान ओलीले लिए। तर पछि दाहालले त्यसमा कुनै आपत्ति नजनाई समर्थन निरन्तरता दिने प्रतिबद्धता जनाएपछि सरकारको निरन्तरता सुनिश्चित भएको थियो।
ओली सरकारले एमाओवादी समर्थनको निरन्तरता सुनिश्चित गरेपछि ‘भारतीय चलखेल’ र उसको राजदूतको राजनीतिमा खुला संलग्नतालाई मुद्दा बनाउने सामूहिक निर्णय एमाले, एमाओवादी नेतृत्वले गरे त्यसै बेला। राष्ट्रपति विद्या भण्डारीको प्रस्तावित भारत यात्रा रद्द, दिल्लीस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने र भारतीय राजदूत रन्जित रेलाई चेतावनी दिने सहमति पनि त्यहीं गरिएको उच्च सरकारी स्रोतले अन्नपूर्णलाई बतायो।
उज्जैन महाकुम्भ पुग्नुअघि दिल्ली बसाइका क्रममा राष्ट्रपति भण्डारीप्रति भारत सरकारको आतिथ्य उपयुक्त नदेखिएपछि निर्धारित प्रस्थानको ७२ घन्टाअघि यात्रा रद्द गरिएको सरकारका एक उच्च पदाधिकारीले जानकारी दिए।
नाम नखुलाउने सर्तमा अन्नपूर्णलाई दिइएको जानकारीअनुसार भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आमन्त्रणमा ‘तपाईं उज्जैन जाने भएकाले’ दिल्लीमा आफ्नो अतिथि बन्न आग्रह गरिएको र दिल्ली बसाइका क्रममा भण्डारीको प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट सात कोर्स रोड (प्रधानमन्त्री निवास) मा निर्धारित गरिएपछि यात्रा अघि नबढाउने निर्णय गरिएको हो।
राष्ट्रपति भण्डारीको भ्रमण रद्द गरिएको जानकारीसँगै दिल्लीस्थित नेपाली राजदूत उपाध्यायलाई राजीनामा गर्न बिहीबार मध्याह्नतिर परराष्ट्र सचिवले टेलिफोनमार्फत सूचित गरेको र दिइएको समयभित्र राजीनामा नआएपछि उनलाई बर्खास्त गरिएको स्रोतले बतायो। उपाध्याय बुधबार काठमाडौं फर्कंदैछन्।
सरकारले लिएका यी दुवै निर्णय प्रधानमन्त्री ओलीलाई हटाउन भएको कसरत र त्यसमा भारतको आशंकित भूमिकाको सेरोफेरोमा गरिएको हो। उपाध्यायलाई यसअघि कमसेकम दुईपल्ट प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले राजदूत भएर दलीय राजनीति नगर्न र बिनासूचना दिल्ली नछोड्न चेतावनी दिए पनि त्यसलाई बेवास्ता गरेको मन्त्रालय स्रोतले बतायो।
केही साताअघि भारतीय राजदूत रेसँग संवेदनशील तथा तनावग्रस्त पश्चिमी क्षेत्रमा जान लागेका उपाध्यायलाई बाटैबाट फिर्ता बोलाइएको थियो। यसपल्ट सरकार गिराउने कसरत हुँदा उपाध्याय एवं कांग्रेस सांसद र रेसँग निरन्तर सम्पर्कमा रहेको र मन्त्रालयमा जानकारी नदिई काठमाडौं आएपछि उनलाई हटाउने निर्णय प्रधानमन्त्री र उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीले गरेपछि मन्त्रिपरिषद्बाट अनुमोदन गराइएको थियो। स्रोतका अनुसार प्रधानमन्त्री ओलीले भारतीय राजदूत रेलाई पनि नेपालको राजनीतिमा नलाग्न सुझाव दिएका छन्।
Social Buttons