Latest News
aaa

सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङ नेपालमा सम्मानित

काठमाडौं, ९ जेठ । ‘युगकवि सिद्धिचरण पुरस्कार २०७३’बाट सिक्किमका मुख्यमन्त्री तथा साहित्यकार पवन चाम्लिङ (किरण)लाई सम्मान गरिएको छ ।
आइतबार यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले चाम्लिङका प्रतिनिधि वीरु वाङ्देललाई  एक लाख नगदसहित प्रमाणपत्र प्रदान गरे ।
युगकवि सिद्धिचरण श्रेष्ठको १०५ औं जन्मजयन्तीका अवसरमा सिद्धिचरण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले छिमेकी देशको मुख्यमन्त्री पुरस्कृत भएपछि ‘नेपाल फराकिलो मन भएको देश हो’ भन्ने विश्वमाझ पुष्टी भएको बताए ।
चाम्लिङलाई नेपाली नागरिकता नभएको नेपाली भाषाको अनुरागीको संज्ञा दिँदै उनले भने, ‘पवन चाम्लिङसँग नेपाली नागरिकता छैन, जो सधैँ नेपालबाहिर बस्नुहुन्छ, तर उहाँ नेपाली भाषा, संस्कृतिप्रति लगाव राख्नुहुन्छ ।’
प्रधानमन्त्री ओलीले युगकवि श्रेष्ठ आफू जन्मनुभन्दा अघि नै जेलमा पर्नुभएको प्रसङ्ग कोट्याउँदै भने,’उहाँ न्यायको लागि लडेर जेल पर्दा मेरो जन्म पनि भएको थिएन, त्यसैले म आफूलाई उहाँको सामान्य चेलो मान्छु ।’
चाम्लिङका प्रतिनिधि वाङ्देलले ‘नेपाल र सिक्किमको भूगोल फरक भएपनि हामी एउटै संस्कृतिका सजातीय मानिस हौँ’ भने ।
प्रतिष्ठानका अध्यक्ष जगदीशशमशेर राणाले मुख्यमन्त्री चाम्लिङको सन्देश सुनाउँदै उहाँले चाँडै नेपाल भ्रमणका लागि आउने प्रतिबद्धता व्यक्त गरेको जानकारी गराए ।
प्रतिष्ठानका संरक्षक तथा युगकवि पुत्र रविचरण श्रेष्ठले करिब ७२ वर्षअघि नै युगकवि श्रेष्ठले ‘नयाँ नेपाल’ कविता लेखेको कोट्याउँदै उनलाई अग्रगामी कविको संज्ञा दिए । प्रतिष्ठानले विगत २७ वर्षदेखि यो पुरस्कार निरन्तर प्रदान गर्दै आएको छ ।
सोही कार्यक्रममा युगकवि श्रेष्ठको ‘कान्तिमति’ खण्डकाव्य, उनका कवितालाई महेश पौडेलको सम्पादनमा अनुवाद गरिएको पुस्तक ‘द ग्रेट पोइट’, शैलेन्दुप्रकाश नेपालको ‘युगकवि’ खण्डकाव्य र प्राडा गार्गी शर्माको नाटक ‘महागुरु सिद्धिचरण’को लोकार्पण गरिएको थियो । रासस