Latest News
aaa

नक्कली पाइलट पक्राउ

काठमाडौँ, नक्कली शैक्षिक प्रमाणपत्रधारी पाइलट ललितपुर महालक्ष्मी नगरपालिका–१० टीकाथली बस्ने धनुषा भरतपुर–१ का ३६ वर्षीय विशाल कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोली महाराजगञ्जले ललितपुर कुपन्डोलबाट गोमा एअरमा को–पाइलट रहेका कार्कीलाई मङ्गलबार पक्राउ गरेको हो । उनले अस्कल क्याम्पसको आइएस्सीको नक्कली प्रमाणपत्रका आधारमा फिलिपिन्सको डेल्टा एअरलाइन्सबाट पाइलट कोर्स पूरा गरेको ब्युरोले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कार्कीले भारतमा आइएस्सी अध्ययन गरेको तर उत्तीर्ण नभएपछि नक्कली प्रमाणपत्र बनाएर पाइलट बन्ने आफ्नो सपना पूरा गरेको प्रहरीलाई बयान दिएका छन् । ब्युरोका प्रहरी उपरीक्षक तारणी लम्सालले कार्की अस्कल क्याम्पसमा भर्ना नै नभएर त्यहाँबाट उत्तीर्ण गरेको प्रमाणपत्र निकालेको अनुसन्धानका क्रममा खुलेको बताउनुभयो । अभियुक्त कार्कीले फिलिपिन्समा पाइलट कोर्स पूरा गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट व्यक्तिगत इजाजतपत्र सिपिएल ए ४८६ प्राप्त गरेका थिए । निजउपर सरकारी छाप दस्तखत कीर्ते ऐनअन्तर्गत आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

पाँच दर्जनभन्दा बढी पाइलटको प्रमाणपत्र छानबिनको दायरामा

ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले पाँच दर्जनभन्दा बढी पाइलटको प्रमाणपत्र बारे ब्युरोले छानबिन गरिरहेको जानकारी दिनुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणसँग समन्वय गरी प्राधिकरणबाट अनुमतिपत्र प्राप्त गरेका बिमान चालकको शैक्षिक प्रमाणपत्र छानबिन भइरहेको उहाँले बताउनुभयो ।उहाँले आजको पक्राउ सुरुवात भएको बताउँदै अनुसन्धानका क्रममा थप पाइलट पक्राउ पर्ने सम्भावना रहेको औँल्याउनुभयो । सिलवालले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बिमान चालकसमेत विभिन्न वायुसेवामा कार्यरत रहेको भन्ने सूचनाका आधारमा ब्युरोले ‘अपरेशन ह्वाँक’ सञ्चालन गरेको र सोही क्रममा उनी पक्राउ परेको जानकारी दिनुभयो । रासस