Latest News
aaa

नायिका श्वेता खड्का के गर्दै छिन त आजभोली

जेष्ठ १, २०७३- केगर्दै छिन् नायिका श्वेता खड्का ? कसरी बित्दैछ उनको दैनिकी ? आममानिसको मनमा कौतूहलता छ । विवाह गरेको दुई महिनामै जीवनसाथी गुमाएकी श्वेता गहिरो पीडा लुकाएर बाँचिरहेकी छिन् । त्यो अकल्पनीय क्षतिपछि उनी मुटु दह्रो बनाउँदै अघि बढिरहेकी छिन् । यतिबेला आफ्नै बुबा–आमासँग बालाजुमा बसाबास गर्ने श्वेताको मुहारमा पीडाको भाव झल्कँदैन । बरु उनमा आत्मविश्वास बलियो हुँदै गएको छ ।
 अनुहार उज्यालिंदै गएको छ । उनी आफ्नो कर्ममा समर्पित भएकी छिन् । यस्तो लाग्छ, उनलाई बिझाइरहने चोट कतै हराइसकेको छ, क्रमश: मेटिँदै गएको छ । श्वेताले आफ्नो एक्लोपन मेटाउन आफूलाई जतिसक्दो काममा व्यस्त राख्ने प्रयास गरिरहेकी छिन् । तनाव र दौडधूपबाट टाढा भाग्न खोजिरहेकी छिन् । केही अघि श्वेता दरबारमार्गको राइजिङ मलमा आफ्नो योजना सुनाउँदै थिइन् । राजधानीमा उनका पाँचवटा नयाँ क्याफे सञ्चालनमा आउँदैछन् । अफिसमा भन्दा क्याफेमै भेट्न उनलाई सहज लाग्दो रहेछ । क्याफे जाँदा धेरै पैसा खर्च हुन थालेपछि उनलाई आफ्नै कफी हाउस सुरु गर्न मन लागेको रहेछ । क्यापेचिनो र अमेरिकानो पिउन रुचाउने श्वेता घरमा आफैं पनि कफी बनाउन अघि सर्छिन् । प्राय: बिहान ७ बजेतिर उनका आँखा खुुल्छन् ।

 ब्यँुझिएपछि उनी फ्रेस भएर हल्का शारीरिक व्यायाम गर्छिन् । पहिले–पहिले क्लब जाने बानी थियो । अहिले त्यो क्रम टुटेको छ । समाचार पढ्न मोबाइल र आइप्याडको भर पर्छिन् । बिहानको १० बजे उनको खाना खाने समय हुन्छ । आफ्नी आमाको हातबाट बनाइएका सबै परिकार उनलाई मन पर्छन् । रेस्टुराँमा भने पिज्जा, स्पाइगेटी वा मम अर्डर गर्छिन् । प्राय: ११ बजेतिर उनी बालुवाटारस्थित कन्ट्रक्सन इन्जिनियरिङ कम्पनी पुग्छिन्, जहाँ उनी ६ वर्षदेखि अध्यक्ष छिन् । दिउँसोको समय मिटिङ, भेटघाट, सार्वजनिक कार्यक्रम एवं आफ्नो व्यापार सम्हाल्छिन् । श्वेता सपिङकी सौखिन हुन् । विदेश पुग्दा नेपालमा नपाइने कुराहरू किन्न मन लाग्छ ।

 प्राय: मेकअपकै सामानमा उनको ध्यान जान्छ । मिसडियर र च्यानल उनलाई मन पर्ने परफ्युम ब्रान्ड हुन् । रोलेक्स घडी लगाएर हिँड्ने रहर पूरा नभए पनि अरू ब्रान्डका घडी आधा दर्जनजति छन् । उनका दुवै हातका औंला औंठीले सजिएका छन् । श्वेतालाई फर्मल पहिरनमा हिँड्न सजिलो लाग्छ । टिसर्ट, पाइन्ट र स्कर्टमा सजिएर हिँड्न रहर लाग्छ । सारी लगाउन मन लाग्छ, तर लगाउन आउँदैन । उनी महिनामा एक–दुई पटक ब्युटिपार्लर पुग्छिन् । मेलोडी टाइपका गीत, संगीतले उनको मन छुन्छ । कस्तो गीत सुन्ने ? त्यो मुडमा भर पर्छ । उनलाई त्यस्तो गीत सुन्न मन लाग्छ जसबाट ऊर्जा र उत्साह मिलोस् । श्वेता आफू सफल हुनुको श्रेय घर–परिवारको साथ, विश्वास त्यसमाथि श्रीकृष्णबाट पाएको उत्साह र सहयोगलाई दिन्छिन् ।


 आफ्नै पैसा लगानी गरेर उनले व्यापार सुरु गरिन् । यतिबेला उनले झन्डै २५ जनालाई रोजगारी दिएकी छिन् । उनलाई धेरै धनाड्य हुन भने मन छैन । ‘सामान्य जीवन जिउन मन छ ।’ हँसिली श्वेताले भनिन्, ‘प्रयास गरिरहेकी छु, कहाँ पुग्छु थाहा छैन ।’ मनमा ऊर्जा र उत्साह बोकेकी श्वेतालाई व्यापारमा अझै राम्रो गर्न सक्छु जस्तो लाग्छ । पाउल कोलिनका पुस्तकसँग श्वेताको ‘लभ’ परेको छ । कोलिनका पुस्तक पढ्दा–पढ्दै उनी कति ठाउँमा रोकिन्छिन्, कति ठाउँमा आँसु झार्छिन् । उनलाई ती पुस्तकका कथा कतै–कतै आफ्नै जीवनगाथासँग मिलेजस्तो लाग्छ । पुस्तकमा घोत्लिँदा–घोत्लिँदै कहिलेकाहीँ रातको १/२ बज्छ । मुड चले उनी डायरी लेख्न पनि बस्छिन् । श्वेतालाई हिन्दी चलचित्र आशिकी–२ पनि आफ्नै जीवनसँग मेल खाए झैं लाग्छ । उनी आफूलाई त्यही चलचित्रकी श्रद्धासँग तुलना गर्छिन् । चलचित्र हेर्दाहेर्दै उनका आँखाबाट आँसु झरेका थिए । ‘कहिलेकाहीँ उनलाई आफ्नै जीवनमाथि पनि चलचित्र बन्छ जस्तो लाग्छ ।’

 भावुक हुँदै उनले मुख खोलिन्, ‘पुस्तकमा त मेरो कथा अटाउँदै अटाउँदैन होला ।’ यसबीच चलचित्रबाट अनेकन प्रस्ताव आए पनि उनले स्वीकार गरेकी छैनन् । बरु व्यापारमै बढी केन्द्रित भैरहेकी छिन् । कलाकार भएकोमा उनी खुसी छिन् । श्वेता आफ्नो एक्लोपन मेटाउन घर, परिवार र मिल्ने साथीहरूसँग घुमफिर गर्छिन् । जतिसक्दो बढी काममा व्यस्त रहन रुचाउँछिन् । फुर्सद भयो कि उनलाई तनाव हुन थाल्छ । हरेक मानिसलाई आफ्नो दु:ख ठूलो लाग्छ । उनलाई पनि बेला–बेला विगत सम्झिएर रुन मन लाग्छ । जब आफूभन्दा ठूलो दु:ख पाएका अरू मानिस देख्छिन्, तब चित्त बुझाउँछिन् । बरु आफूलाई सम्हाल्दै दुनियाँसामु उदाहरणीय बनेर देखाउने संकल्प लिन्छिन् ।